राष्ट्रिय मुक्ति पार्टीमा सबै सदस्यले एक पटक अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १५:१०     104 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टीका हरेक सदस्यलाई पार्टीको केन्द्रीय कोषमा आर्थिक सहयोग गर्नु अनिवार्य गरेका छन् । पार्टी अध्यक्ष महतोले एक सर्कुलर जारी गर्दै पार्टीका सबै तहका सदस्य तथा पदाधिकारीहरूले पार्टी कोषमा एक पटक स्वघोषणा गर्दै आ–आफ्नो क्षमता अनुसार रकम जम्मा गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष महतोले पार्टीका सबै केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, पालिका अध्यक्ष, वडा अध्यक्षहरूले कम्तीमा पचास वटा सहयोग रसिद काटेर चन्दा सङ्कलन गर्न अनिवार्य गरेका छन् । त्यसका लागि उनले पचासवटा पार्टी सदस्यता रसिद अनिवार्य वितरण गर्नुपर्ने भनेका छन् ।

सहयोग रसिदबाट चन्दा सङ्कलन गर्दा कम्तीमा एक सय रुपैयाँ अनिवार्य उठाउनुपर्ने भनिएको छ । सर्कुलरमा भनिएको छ, ‘केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यहरुले उठाउने सहयोगको बाँडफाँड गर्दा २० प्रतिशत खर्च कटाइ ८० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ भने राष्ट्रिय परिषद् र जिल्लाको हकमा उठाउने व्यक्तिले २० प्रतिशत, समन्वय गर्ने समितिले ५० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्नेछ ।’

अध्यक्ष महतोले पार्टीका सदस्यहरूलाई पठाएको सर्कुलरअनुसार जिल्ला, क्षेत्र तथा पालिकामा हुने कार्यक्रममा नै कुन सदस्यले कति आर्थिक सहयोग गर्ने भनी अनिवार्य घोषणा गराउनुपर्ने छ ।