नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले अलराउन्डर दीपेन्द्र सिंह ऐरीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका छन्। लामो समयदेखि खराब प्रदर्शनबाट गुज्रिरहेका भुर्तेलले हङकङ यात्रामा भने उत्कृष्ट लयलाई कायम राखेका छन्।
बिहीबार बिहान भएको टी-२० सिरिजअन्तर्गत कुवेतविरुद्धको खेलमा भुर्तेलले ५० बलमा ८१ रन बनाउँदा नेपालका लागि सबैभन्दा बढी अर्धशतक बनाउने कीर्तिमान रचेका हुन्। यसअघि यो कीर्तिमान दीपेन्द्रको नाममा थियो। दीपेन्द्रले टी-२० मा १० अर्धशतक प्रहार गरेका छन्। तर भुर्तेलले कुवेतविरुद्ध अर्धशतक बनाएसँगै उनको अन्तर्राष्ट्रिय अर्धशतक ११ पुगेको हो।
टी-२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्र दुवै समान एक एक सतक प्रहार गरेका छन्। ५४ खेल खेलेका कुशलले नटआउट १०४ र ६६ खेलमा ब्याटिङ गरेको दीपेन्द्रले नटआउट ११० रन बनाएका छन्।
कुवेतविरुद्ध नै अर्धशतक बनाएका ओपनर आसिफ शेख पनि ७ अर्धशतकसहित तेस्रो स्थानमा छन्। कप्तान रोहित पौडेलको पनि समान ७ अर्धशतक छ। त्यसपछि पूर्वकप्तान पारस खड्का र कुशल मल्लले समान ५ अर्धशतक प्रहार गरेका छन्।
नेपाल र कुवेतबीच अहिलेसम्मकै उच्च स्कोर बनेको खेलमा नेपालले १८६ रनको लक्ष्य पूरा गरेको थियो। यो खेलमा दुवै टोलीको गरी ३७१ रन बन्यो। टी–२० मा एकै खेलमा यी दुई टोलीले बनाएको यो नै उच्च स्कोर हो।
बिहीबार बिहान पहिले ब्याटिङ गरेको कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्रै ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरे। आसिफले ३८ बलमा ५३ रन जोडे।
उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।
अब नेपालले लिगको अन्तिम खेलमा शनिबार हङसँग खेल्नेछ। यसअघि नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो।