ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ

 संवाददाता    २०८१, २७ चैत्र बिहीबार १२:२८     191 जनाले पढ़िसके



Spread the love

बारा प्रहरीले आज ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । बारा सीमावर्ती क्षेत्रमा लागु औषध तस्करी भइरहेको सूचना बमोजिम प्रहरीले जाँच गर्दा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

बारा प्रहरीले जिल्लाको फेटा गाउँपालिकाबाट विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

488366506_1303299387445631_6237325010359803117_n

उनका अनुसार बाराबाट खटिएको टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई रोकी जाँच गरेको थियो । सोही जाँचमा प्रहरीले इन्धन ट्याङ्की खोल्दा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त लागु औषध फेला परेको हो ।

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पञ्चायत वडा नम्बर–२ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।