राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।
प्रवक्ता मोहन श्रेष्ठले सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा कार्यक्रम गरिने तय भएको रातोपाटीलाई जानकारी दिए ।
राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको उल्लेख गर्दै श्रेष्ठले शान्तिपूर्ण प्रदर्शन जहाँ गर्दा पनि फरक नपर्ने बताए ।
‘हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हौँ । कुनै हिंसात्मक प्रदर्शन भएकाले नियम कानुनले दिने हो भने सिंहदरबारमै अनुमति दिँदा पनि फरक पर्दैनथ्यो’, उनले भने, ‘तर सरकारले भृकुटीमण्डपमा नदिने जुन निर्णय गर्यो यो सर्वसत्तावादी चरित्र हो ।’
आइतबार जिल्ला प्रशासन कार्यालयले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको थियो ।