परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोसी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन्। उनले यसबारेमा चिनियाँपक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए।
चिनियाँ पक्षले आफैँले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाई छ। नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताए।
चिनियाँ पक्षले पनि आफ्नै नागरिकलाई सूचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी आफूलाई दिएको उनले बताए। बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ। घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भएपनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताए।
‘मलाई लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूको मान्छेलाई पनि त्यो भन्न भ्याउनुभएको थिएन। चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहिँ यही हो। उहाँहरुले नी त आफ्ना मान्छे बचाउनुहुन्थ्यो। त्यति सर्टेन हिसावले त्यो इन्सिडेन्ट भएको देखिन्छ, त्यसले गर्दा पूर्वसूचना दिने समय नै भएन’ उनले भने, ‘ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन। तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त।’
उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएपनि कतिपयले अटेर गरेको बताए। नेपालको इतिहासमै यति ठूलो विनाशकारी प्राकृतिक विपद् विरलै भएको उल्लेख गर्दै उनले स्थानीयले पनि बाढीको भयावहता अनुमान गर्न नसकेको बताए।
बाढी नियमित रूपमा आउने भएकाले यसपटकको बाढी पनि सामान्य हुन सक्ने ठानेर कतिपय स्थानीयले समयमै सुरक्षित स्थानमा जान ध्यान नदिएको उनको भनाइ छ।