चीनसँगको व्यापार घाटा घटाउनुपर्छ : मन्त्री भण्डारी

 संवाददाता    २०८१, २३ चैत्र आईतवार ०८:०९     185 जनाले पढ़िसके



Spread the love

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल–चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी–केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

यस्तै उहाँले कोरला, हिल्सा, किमाथाङ्का, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताउनुभयो । मन्त्री भण्डारीले सङ्घले स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा नेपाल–चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदायबीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवद्र्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताउनुभयो ।

सरकारी निकायसँगको समन्वयमा वाणिज्य कूटनीतिलाई बढावा दिन सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ थियो । चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उहाँले बताउनुभयो ।