बाग्लुङको ढोरपाटन शिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

 संवाददाता    २०८१, २१ चैत्र शुक्रबार १३:२०     195 जनाले पढ़िसके



Spread the love

बाग्लुङमा रहेको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा) को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।

रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।

ढोरपाटन शिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार देशभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म यकिन गणना नभए पनि शिकार आरक्षभित्र झन्डै तीन सयको हाराहारीमा रेडपाण्डा रहेको उहाँको भनाइ छ ।

वि.सं. २०७४ मा शिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झन्डै दुई सयदेखि तीन सय रहेको अनुमान गरेको सुवेदीले बताउनुभयो । रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उहाँको भनाइ छ ।

ढोरपाटन शिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उहाँले जानकारी दिनुभयो ।