म्यानमार भूकम्प : भग्नावशेषमा पुरिएका थप ४ जनाको ६० घण्टापछि उद्धार

 संवाददाता    २०८१, १७ चैत्र सोमबार ०८:००     160 जनाले पढ़िसके



Spread the love

म्यानमार र थाइल्याण्डमा राहत र उद्धार कार्य अझै पनि जारी छ। उद्धारकर्मीहरू भग्नावशेषमुनि पुरिएका मानिसहरूको खोजीमा व्यस्त छन्।

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको लगभग ६० घण्टापछि भग्नावशेषबाट थप चार जनालाई उद्धार गरिएको छ। म्यानमारको सागाइङ क्षेत्रमा भत्किएको विद्यालय भवनबाट चार जनाको उद्धार गरिएको र एक जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्।

मार्च २८ मा म्यानमारमा गएको भूकम्पमा परी करिब १,७०० जनाको मृत्यु भएको छ भने करिब ३,४०० जना घाइते भएका छन्। म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो। थाइल्याण्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ।

यसैबिच, म्यानमारको दोस्रो ठुलो सहर मन्डले नजिकै आइतबार फेरि भूकम्प गएको छ। विश्वव्यापी रूपमा भूकम्प ट्र्याक गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार मन्डलेबाट २८ किलोमिटर (१७.४ माइल) उत्तरपश्चिममा रहेको मट्टारा टाउनशिपमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो।

मट्टारा नजिकैको अमरापुराका एक बासिन्दाले बताएअनुसार यो मार्च २८ को भूकम्पपछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो। हिजो नै म्यानमारमा ४.२ म्याग्निच्युडको अर्को भूकम्प रेकर्ड गरिएको थियो। लगातार भूकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।