बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १९:०५     149 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक भएको बताएको छ ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको जनाएका छन् ।

‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ’, माओवादीले भनेको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

साथै माओवादीले कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएकोमा आपत्ति जनाएको छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ’, सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौँ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’