धनुषा प्रहरीले ८० लाख लुटपाट गर्ने समूहका एकजनालाई पक्राउ गरेको छ । घटनाको लामो समयपछि विशेष सूचनाको आधारमा मिथिला नगरपालिका वडा नम्बर–३ निवासी भरत कुमार महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण बहादुर सिंहले बताए ।
उनका अनुसार २४ वैशाखमा जनकपुर उपमहानगरपालिकाको वडा नम्बर–१९ थुमहौना सडक खण्डमा लुटपाट भएको थियो ।
उनले भने, ‘नम्बर नखुलेको मोटरसाइकलमा तीन आएर उक्त सडकखण्डबाट वीरेन्द्र महतोले बोके हिँडेको पैसा लुटपाट गरेका थिए, हतियार देखाइ महतोसँग भएको ८० लाख रुपैयाँ त्यो लुटिएको थियो । त्यही घटनामा संलग्न फरार प्रतिवादी आज पक्राउ परेका हुन् ।’
पक्राउ परेका महतोलाई जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
वैशाख २४ गते दिनको साढे ११ बजेको समयमा हिमालयन बैंकको जनकपुर शाखाबाट धनुषा निवासी वीरेन्द्र महतो ८० लाख रुपैयाँ निकालेर कालो क्याट लेखिएको कालो झोलामा राखेर आफ्नो गन्तव्यतर्फ हिँडेका थिए ।
प्रहरीका अनुसार उनी शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुर धनुषाका लागि ज ७ प ५१५१ नम्बरको आफ्नो मोटरसाइकलमा श्रीमतीलाई राखी हिँडेका थिए । प्रहरी भन्छ, ‘यही बेला थुमहौना सडक खण्डमा तीन जना नम्बर नखुलेको मोटरसाइकलमा अपरिचित समूहले वीरेन्द्र महतोले बोकेको ८० लाख रुपैयाँ लुटपाट गर्यो, पेस्तोल देखाएर लुटपाट भयो ।’