अमलेखगञ्जबाट लागु औषध अफिमसहित दुई जना पक्राउ

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार २०:०१     143 जनाले पढ़िसके



Spread the love

बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट लागू औषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नावय निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ३ बजे हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको बा.प्रदेश ०३-००३ प ३१२६ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकललाई जाँच गर्दा सिटमुनी लुकाएर राखिएको लागू औषध फेला पारेको हो।

प्रहरीका अनुसार उक्त मोटरसाइकल चालक मकवानपुर, राक्सिराङ गाउँपालिका–१ बस्ने २७ वर्षीय सुनिल मोक्तान र मोटरसाइकलको पछाडि सवार मकवानपुर, भीमफेदी गाउँपालिका–३ बस्ने २० वर्षीय हर्क रुम्बालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट २ किलो ४१ ग्राम अफिम (४ प्याकेट) बरामद गरिएको छ। उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।