लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्वरको कारमा ठोक्किँदा निलगाई मरेको हो । निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको छ ।

आज बिहान ९ बजेतिर भएको दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन् । कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले जानकारी दिए ।
वन अधिकृत बस्यालका अनुसार बयस्क हुनेक्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको हो । कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताए ।


डिभिजन वन कार्यालय आसपास उष्ण प्रदेशीय बागवानी केन्द्रभित्र ठूलो सङ्ख्यामा निलगाई अर्थात् घोडगधा देखा पर्ने गरेका छन् ।