युवा जगतको चौतर्फी विकासमा सरकार सहयोग गर्न कट्टिबद्ध छ : प्रधानमन्त्री

 संवाददाता    २०८१, १८ फाल्गुन आईतवार १४:४१     64 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सि.सं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ भन्ने उक्तिलाई आत्मसात् गर्दै चन्द्र र सूर्य अङ्कित झन्डाप्रति अनुशासित र शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताए ।

‘तपाईँहरूमाथि तपाईँको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईंहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा तपाईंहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईंहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि सुरु गर्नुपर्दछ ।’

सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रलाई आवश्यक परेको बेलामा युवाहरूले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा÷छात्रालाई शुभकामना दिँदै अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए । कार्यक्रममा भारत र माल्दिभ्सका एनसिसी र भुटान स्काउटको प्रमण्डल पनि सहभागी रहेको थियो ।

युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ विसं. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

यस आर्थिक वर्षका यसका ७ हजार ७ सय ४ छात्र÷छात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्‍याउने लक्ष्य लिइएको छ । हालसम्म सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।