मानवसेवा आश्रम सर्लाही शाखा द्वारा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार २१:३१     174 जनाले पढ़िसके



Spread the love

मानव सेवा आश्रम सर्लाही शाखाले श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिएको बारे आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–९, दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माणका लागि श्रोत जुटाउन महायज्ञ आयोजना गरेको हो ।

फागुन २२ गतेदेखि २९ गतेसम्म सुर्ती विकास खेल मैदान हरिवनमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरिएको अध्यक्ष रामजी अधिकारीले बताए ।

मानव सेवा आश्रमको सर्लाही शाखा अहिले हरिवन नगरपालिका–१, कैलाशपुरीमा नगरपालिका कार्यालयले उपलब्ध गराएको ज्येष्ठ नागरिक भवनबाट सञ्चालन भइरहेको छ ।

आश्रमको हरिवन नगरपालिका–९, दनुुवारीमा आफ्नै भवन निर्माण गर्न सुरु गरिए पनि आर्थिक अभावका कारण निर्माण कार्य अधुरो अवस्थामा छ ।

उक्त भवनको निर्माण कार्य पूरा गर्ने मुख्य उद्देश्यसहित महायज्ञ आयोजना गरिएको मानवसेवा आश्रमले जनायो । दनुुवारीमा निर्माणाधीन भवनमा हालसम्म एक करोड रुपियाँ खर्च भइसकेको अध्यक्ष अधिकारीले बताए ।

भवनको निर्माण कार्य सम्पन्न गर्न करिव ११ करोड रुपियाँ आवश्यक पर्ने आश्रमको दाबी छ। महायज्ञबाट भवन निर्माणका लागि आवश्यक रकम सङ्कलन हुने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा बताए ।

आश्रममा अहिले ६० जना आश्रीत रहेका छन् । आफ्नै भवन निर्माणपश्चात १ सय ५० जनासम्म सडक आश्रीत मानवलाई सेवा प्रदान गर्न सक्ने क्षमता हुने मानवसेवा आश्रमले जनाएको छ ।

 

मानवसेवा आश्रमको हरिवनमा रहेको आश्रमले हालसम्म २९९ जना सडक आश्रित मानवको उद्धार गरेको र २ सय २९ जनालाई पारिवारिक पुनर्मिलन समेत गराइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महायज्ञबाट सङ्कलन भएको सम्पूर्ण रकम अधुरो भवनको निर्माण कार्य पूरा गराउन खर्च गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष माधव थापाले बताए । उनका अनुसार हरेक मानवतावादी मनहरुबाट नगद र जिन्सी दुवै सहयोग स्वीकार गरिनेछ ।

 

 

महायज्ञमा हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीलाई उत्पे्ररणात्मक कार्यक्रम गर्ने तयारी गरिएको छ ।

महायज्ञमा प्रमुख कथावाचक भागवत भाष्कर कमलनयन गौतमले कुनै प्रकारको दक्षिणा र शुल्क नलिइ कथावाचन गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले नगरपालिकालाई सडक मानवमुक्त नगरपालिका घोषणाको तयारी समेत भइरहेको उल्लेख गरे ।

नगर उपप्रमुख हरिमाया घलानले महायज्ञको उद्देश्य पूरा गर्न सबै एक भएर लाग्न अनुरोध गरिन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर एबं पूर्व जिल्ला अध्यक्ष विश्वनाथ ठाकुरले महायज्ञलाई सफल बनाउन पत्रकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महायज्ञमा मनकारी व्यक्ति, सङ्घसंस्था, स्थानीय तह, प्रदेश तथा सङ्घ सरकार, जनप्रतिनिधि, राजनीतिज्ञ लगायत सबैलाई अनुरोध गरिएको आश्रमले जनाएको छ । मूल आयोजक समितिले महायज्ञलाई सफल बनाउन आवश्यक तयारी तथा प्रचारप्रसारको काम तीव्र रुपमा अघि बढाएको जनाएको छ ।