पाथीभरा केबलकारको विषय छलफलबाट टुङ्गो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्छ : कांग्रेस

 संवाददाता    २०८१, १७ फाल्गुन शनिबार ०९:५१     65 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुङ्गो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

हिजाे पार्टी सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्ने गरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयाे । उहाँले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभई श्रद्धालुहरूलाई सहज पहुँच पुर्‍याउने बताउनुभयो ।

यस्तै बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकाे पारदर्शिता सुनिश्चित गर्ने कुरामा पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको प्रवक्ता महतले उल्लेख गर्नुभयाे । अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु चुनाव सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा पार्टीले धारणा बनाउने महतकाे भनाइ छ ।

यस्तै प्रमुख सचेतक श्याम घिमिरेले विधेयकबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरू शून्यताको अवस्थामा रहेकाले त्याे विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।