लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा बसका सहचालक पक्राउ

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार २१:२२     85 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका बिराज ठकुरी छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ–७ बस्दै आएका अडविर राई फागुन १४ मा मध्यराती धोविखोला करिडोमा मृत भेटिएका थिए । उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । उनले भने, ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले आरोपीको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रयोगमा नआएको शौचालयमा राईको शव म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका आरोपी चक्रपथमा चल्ने बसका सहचालक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी प्रह्लाद कार्की नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ । राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । आरोपीले ढुंगाले हिर्काएर हत्या गरेको बयान दिएका छन् ।