राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाउनु भयो । उनले धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताए ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौँ महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन् । आज काठमाडौँ महानगरपालिकामा मात्रै सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’
उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरूलाई ठप्प नपार्न चेतावनी दिए ।