प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले उनीहरुलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।
रिहा भएकामध्ये चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् ।
हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गर्ने भनिएको थियो, तर अहिलेसम्म रिहाइ प्रकृयामा ढिलासुस्ती भएको बीबीसीले जनाएको छ । हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो । यो अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ ।
हमास लडाकु समूहले अझै ६१ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ । तीमध्ये एक जना नेपालका विपिन जोशी पनि रहेका ठानिएको छ । कञ्चनपुरका जोशी कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।