काठमाडौँ । सरकारले विपद्बाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत सहमति गरेको हो ।
आइतबार १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो ।
सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्ग र पुल बनाउन बजेटको स्रोत सहमति भएको बताए । ‘हामीले माग गरेअनुसार बजेटको स्रोत प्राप्त भएको छ । अब छिट्टै यी आयोजनाहरू निर्माणका लागि प्रक्रिया अघि बढाउँछौँ ,’ उनले भने ।
कुल बजेटमध्ये राजमार्गतर्फ १६ अर्ब ९८ करोड रुपैयाँ स्रोत सुनिश्चितता भएको सडक विभागले जनाएको छ । यसमध्ये मुख्य सडकतर्फ १५ अर्ब ८३ करोड १० लाख, वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड बजेट सुनिश्चितता भएको छ । र पुलतर्फ १ अर्ब ९० करोड १० लाख गरी क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ कुल बजेट सुनिश्चित भएको हो ।
यसमध्ये चालु आर्थिक वर्षमा सडक र पुल पुनर्निर्माणका लागि ३ अर्ब ६६ करोड ७ लाख बजेट विनियोजन भएको विभागले जनाएको छ । यसमध्ये मुख्य सडक तर्फ ३ अर्ब १६ करोड ८६ लाख, पुलतर्फ २६ करोड २१ लाख र वैकल्पिक सडकतर्फ २३ करोड चालु वर्षमा विनियोजन हुने भएको छ ।
यस्तै विपद्बाट क्षतिग्रस्त सडक तथा पुल अस्थायी पुनर्निर्माणका लागि तत्काल आवश्यक बजेट ६० करोड २४ लाख रुपैयाँ विनियोजन हुने भएको छ । जसमध्ये मुख्य सडकतर्फ ३९ करोड ८७ लाख, पुलतर्फ ८ करोड ८७ लाख र वैकल्पिक सडकतर्फ ११ करोड ५० लाख रुपैयाँ बजेट अस्थायी पुनर्निर्माणका लागि विनियोजन हुने जनाइएको छ ।
सरकारले बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट दिने भएको छ । प्रारम्भिक अध्ययनअनुसार ९ अर्ब ६६ करोड लागत लाग्ने देखिएको थियो । तर, अहिले एक अर्ब बजेट घटेर स्रोत सुनिश्चितता भएको हो ।
कुल स्रोत सुनिश्चितता भएकामध्ये बीपी राजमार्ग भक्तपुर खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब छ । यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ ।
यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपीको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ ।
मेची राजमार्ग पुनर्निमार्णका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । यसमध्ये चालु वर्षका लागि १२ करोड बजेट दिइने छ । यस्तै एक करोड ५० लाख रुपैयाँ अस्थायी रूपमा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएको छ ।
यसैगरी खुर्कोट–मिल्टी सडक पुनर्निर्माणका लागि ४० अर्ब रुपैयाँ दिइने छ । यसमध्ये यो सडक पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ८ करोड बजेट विनियोजन हुनेछ । साथै यो सडक अस्थायी रूपमा निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन हुनेछ ।
यस्तै बिँब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक पुनर्निर्माणका लागि ५० करोड बजेट स्रोत सहमति भएको छ । यसमध्ये यो सडकका पुनर्निर्माणका लागि चालु वर्षमा १० करोड बजेट विनियोजन हुनेछ । साथै अस्थायी निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन हुने भएको छ ।
बाढी पहिरोबाट क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि सरकारले एक अर्ब ९० करोड १० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ ।
यसमध्ये सबैभन्दा ठूलो बजेट सुनकोशीस्थित उदयपुर–खोटाङ जोड्ने फोक्सिङटार पुललाई दिइएको छ । यो पुल पुनर्निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ । यसका लागि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन हुनेछ । यो पुल बाढीले बगाएपछि सरकारले दुई करोड लागतमा बेलीब्रिज निर्माण गरेको थियो ।
यसैगरी लार्चा पुल पुनर्निर्माणका लागि २५ करोड रुपैयाँ दिइने भएको छ । यो पुल पुनर्निर्माणका लागि दुई करोड २५ लाख रुपैयाँ चालु वर्षमा दिइने जनाइएको छ ।
यसैगरी लिपिङ पुलका लागि १० करोड, हेवा खोला पक्की पुल २५ करोड हेवा खोला बेलिब्रिज पाँच करोड, सुनकोशी खैरेनीटार पुल २५ करोड, बागमती बगुवा पुल (आरसीसी) १८ करोड, बागमती बगुवा बेलिब्रिज ६ करोड, पुवा खोला पुल (मेची) १७ करोड ७० लाख, पुवा खोला बेलिब्रिज ३ करोड ७० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको छ ।
यसैगरी जोगबनी खोलामा बेलिब्रिजका लागि दुई करोड ७० लाख र खुर्कोट पुल पुनर्निर्माणका लागि १५ करोड बजेट स्रोत सुनिश्चित भएको छ ।
सरकारले वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड बजेट सुनिश्चितता गरेको छ । यसमध्ये भकुण्डे–तेमाल–सिन्दुरेटार सडक पुनर्निर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भएको छ । यसैगरी किर्नेटार–जाफे सडकका लागि ४५ करोड र थानकोट–चित्लाङ सडकका लागि २५ करोड बजेट परेको छ ।