चीन युद्धको लागि तयार छैन : अमेरिकी थिंक ट्याङ्कको रिपोर्ट

 संवाददाता    २०८१, ६ फाल्गुन मंगलवार १०:१४     76 जनाले पढ़िसके



Spread the love

चीन युद्धको लागि तयार छैन । एउटा अमेरिकी थिंक ट्याङ्कको रिपोर्टले यस्तो देखाएको हो । सेनालाई आधुनिकीकरण गर्नुको उद्देश्य कुनै विदेशी शत्रुको सामना गर्नु नभएर सत्तामा आफ्नो पकड कायम राख्नु भएको उक्त रिपोर्टमा भनिएको छ ।

चिनियाँ नेता सी जिनपिङको सरकारले आक्रामक रूपमा आफ्नो सैन्य क्षमता विस्तार गरिरहेको छ । कुनै समय एसियाको सबैभन्दा बलियो सेनामा पनि नगनिने पिपुल्स लिबरेशन आर्मी (पीएलए) अब अमेरिकी सेनाको बराबरी वा त्यसलाई उछिन्ने स्तरमा पुगेको विश्लेषकहरू बताउँछन् ।

अमेरिकी रक्षा विज्ञहरू ताइवानको मुद्दामा चीन अमेरिकासँग डराएको विश्वास गर्छन् । चीन द्वन्द्वबाट बच्न चाहने उनीहरू ठान्छन् । ताइवान एक स्वशासित टापु हो जसलाई चीन आफ्नो मान्दछ । प्रभावशाली हतियार र भारी सैन्य खर्च भएपनि चीनको जनमुक्ति सेना लडाई तयारीमाथि शङ्का रहेको गत महिना वाशिंगटनस्थित आरएएनडी कर्पोरेशनले प्रकाशित गरेको ‘के चिनियाँ सेना साँच्चै युद्धको लागि तयार छ ?’ शीर्षकको प्रतिवेदनमा भनिएको थियो ।

नेता बलियो भयो भने मात्रै ठुलो र सुसज्जित सेना युद्धमा सफल हुने पनि प्रतिवेदनमा उल्लेख छ । पीएलएको मुख्य ध्यान चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को शासन कायम राख्नुमा रहेको प्रतिवेदनमा उल्लेख छ । यसलाई प्रतिवेदनमा चीन–जापानी युद्धमा छिङ राजवंशको प्राविधिक रूपमा उन्नत नौसेनाको पराजय र उत्कृष्ट हतियारहरूको बाबजुद चिनियाँ गृहयुद्धमा राष्ट्रवादीहरूको पराजय जस्ता ऐतिहासिक उदाहरणहरूसँग तुलना गरिएको छ । यसले युक्रेनमा रुसको द्वन्द्वको हालैको उदाहरण पनि दिएको छ ।

‘चिनियाँ सेनाको उद्देश्य के हो त ?’ भनेर प्रतिवेदनमा प्रश्न पनि उठाइएको छ । सबै सेनाहरू राज्यको रक्षा गर्ने उद्देश्यले बनाइएका भए तापनि तिनीहरूको वास्तविक कार्यहरू धेरै फरक हुन सक्ने बताइएको छ । पीएलएको तालिमको ४० प्रतिशत समय राजनीतिक विषयमा हुने भनेर प्रतिवेदनमा भनिएको छ ।