शहीद मार्गको रकम कटौती गरेको भन्दै वर्षमानले उठाए प्रश्न

 संवाददाता    २०८१, ४ फाल्गुन आईतवार १४:५४     75 जनाले पढ़िसके



Spread the love

पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन ‘अनन्त’ले शहीद मार्गको रकम कटौती गरेको भन्दै प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्र गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका हुन् ।

उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए । पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।

‘चालु आर्थिक वर्ष ०८१/८२ मा शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ । सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु’, पुनले भने,‘ त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।