चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्दै आएका अशोक रानाका दुई छोरा छन्, रोशन र रोहित ।
दुवै छोरा भारतीय सैनिक (इन्डियन आर्मी) हुन् ।
कान्छा छोरा रोशन केही दिनअघिमात्रै एक महिने छुट्टि सकेर पल्टन फर्किए । रोशन फर्किएको केही दिनमै जेठा छोरा रोहित छुट्टि लिएर आमाबुवा भेट्न आए ।
लमजुङको सुन्दरबजार नगरपालिका–३ चन्द्रेश्वर स्थायी घर उनीहरू चितवनको रामनगरमा बसोवास गर्दै आएका छन् । शुक्रबार बिहान करिब १० बजेतिर घरमै खाजा खाएर रोहित काठमाडौंको यात्रामा निस्किए ।
छुट्टिमा आएको बेलामा मामाघर र आफन्तलाई भेट्न उनी चितवनबाट हिँडेका थिए ।
बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै निस्किएका उनी मामाघर जान भनेर हिँडेका थिए ।
‘अघिपछि पनि छुट्टिमा आएको बेलामा जाने गथ्र्यो,’ रोहितका बुवा अशोकले भने, ‘आज पनि मामाघरतिर भेटघाट गरेर आउँछु भनेर हिँडेको थियो ।’
छोरो रामनगरबाट हिँडेको केही घण्टामै दुर्घटनाको खबर सुन्नुपर्यो, अशोकले । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना–५ कालीखोला भन्ने ठाउँमा रोहित सवार मोटरसाइकल दुर्घटनामा पर्यो ।
सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको थियो ।
यो पनि पढ्नुहोस
मोटरसाइकलमा एक्लै काठमाडौं आइरहेका थिए त्रिशूलीमा बेपत्ता भारतीय सैनिक
प्रहरीका अनुसार दुर्घटनास्थल वरपर केही कागजात भेटिएका छन् । उनले लगाएको जुत्ता, पर्स लगायतका केही सामान फेला परेपनि मान्छे फेला पर्न सकेका छैनन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीका अनुसार शुक्रबार दिनभर खोजी गर्दा पनि केही पत्ता लाग्न सकेको छैन ।
‘आज दिनभर खोजी गर्यौं, केही पत्ता लागेको छैन,’ उनले भनिन्, ‘भोलि बिहान फेरि खोजी सुरु गर्छौं ।’
बुवा अशोकका अनुसार रोहित भारतबाट फर्किएको १२/१३ दिन भयो ।
‘एक महिने छुट्टिका लागि आएको थियो । त्यस्तै १२/१३ दिन भयो होला आएको,’ अशोक सुनाउँछन् । अशोकका दुवै छोराहरूको बिहे भएको छैन । जेठो छोराले भारतीय सेनामा जागिर खाएको ९ वर्ष भयो ।
दुई छोराहरूले नै भारतीय सेनामा जागिर खाएपछि चितवनमा अहिले अशोक र उनकी श्रीमती मात्रै बस्छन् ।
केही वर्षदेखि चितवन झरेका उनीहरूले बसाईंसराईं भने लिएका छैनन् । जागिरबाट छुट्टि लिएपछि छोराहरू पनि सिधै रामनगरनै आउँछन् ।
‘खाजा खाएर हिँडेको थियो । काठमाडौंमा मावलीमा भेटघाट गरेर फर्कन्छु भनेर गएको हिँडेको,’ बुवा अशोकले भावुक हुँदै सुनाए, ‘अघिपछि पनि छुट्टिमा आएको बेलामा त्यसैगरी काठमाडौं गएको हुन्थ्यो ।’
छोरा सवार मोटरसाइकल दुर्घटना अशोकका लागि अझै अपत्यारिलो लागिरहेको छ ।