बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने छ : गभर्नर अधिकारी

 संवाददाता    २०८१, २४ माघ बिहीबार १३:१४     47 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुराउने विश्वास व्यक्त गरेका छन् ।

खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने धारणा राख्दै सहर केन्द्रित सम्मेलनलाई बाँस सम्मेलनले चुनौती दिएको उल्लेख गरे । उनले बाँससम्बन्धी विषयवस्तुमा आधारित रहेर खोटाङमा आयोजना हुने सम्मेलनले नयाँ अभ्यास गर्नुका साथै हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

अधिकारीले भने, “दैनिक जीवन बाँस उपयोगी र दिगो हुन्छ, आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । स्वस्थ र वातावरणमैत्री हुनेगरी काम गर्न बाँस उपयोगी हुन्छ”,। उनले बाँस सम्मेलनको सफलता, र उपयोग बढाउन, व्यावसायिक अभिवृद्धि, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा राष्ट्र बैंक र आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पूर्वमन्त्री गणेश शाहले खोटाङको दिक्तेलमा हुने सम्मेलनले बाँसमा आधारित उद्योग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएकाले यो बहुउपयोगी वस्तु रहेको धारणा राखे ।

त्यसैगरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘हिमालयन बाम्बो ब्रान्ड’ बनाएर अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

“नेपालमा २३ जातिका ८१ प्रजातिका बाँस पाइन्छन्, संसारमा पाइने बाँसमध्ये नेपालमा १९ प्रतिशत पाइन्छन्, तराईदेखि पहाड र हिमालमा पनि पाइने बाँसलाई गरिबको साथी मात्रै नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा प्रचारप्रसार गरी यसको प्रवर्द्धनमा जोड दिनुपर्ने डा केसीको भनाइ छ ।