किवीको मूल्य बढ्यो, प्रतिकिलो कति?

 संवाददाता    २०८१, २० माघ आईतवार १२:३१     58 जनाले पढ़िसके



Spread the love

बजारमा किवीको मूल्य बढेको छ।

किवीको सिजन सकिन लागेसँगै मूल्य बढ्न थालेको हो।

माग अनुसारको आपूर्ति नभएकाले किवीको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।

‘नेपाली किवीको सिजन सकिन लाग्यो, त्यसैले मूल्य बढेको हो,’ उनले भने।

उनका अनुसार किवीको मूल्य बढेको एक महिना हुन लाग्यो।

एक महिना अघि बजारमा किवी प्रतिथोक मूल्य एक सय ५० देखि एक सय ८० रूपैयाँमा कारोबार भइरहेको थियो।

अहिले भने बजारमा किवी प्रतिथोक मूल्य दुई सय ५० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बजारमा नेपाली किवी माघ महिनासम्म मात्र आउने छ। त्यसपछि भने चीन र भारतबाट किवी भित्रिने छ।

‘नेपाली किवी सकिने बित्तिकै चिनियाँ किवी आउँछ। त्यसपछि भारतीय आउन थाल्छ,’ उनले भने।

उनका अनुसार अहिले पनि बजारमा चिनियाँ तथा भारतीय किवी थोरै परिमाणमा आइरहेको छ।

हाल बल्खु बजारमा काभ्रे, धरान, धनकुटा, दोलखा, रामेछाप लगायतका पहाडी क्षेत्रबाट किवी आउने गरेको छ।

थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको व्यवसायीहरू बताउँछन्।

एक महिना अघि प्रतिकिलो दुई सयदेखि दुई सय ५० रूपैयाँमा पाइरहेको किवी अहिले बढेर प्रतिकिलो तीन सय ५० देखि चार सय रूपैयाँसम्म पुगेको छ।