‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु शाश्वत हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ’– एउटा भैंसीको मृत्युमा लेखिएका शोक शब्द हुन्, यी । मायाकुमारी नामको सो भैंसीको मृत्यु भएपछि विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ । यसरी पशु खासगरी भैंसीलाई भावपूर्ण बिदाइ गरिएको यो विरलै घटना हो ।
उक्त भैंसी ललितपुरस्थित स्नेह केयर्स सेन्टरमा राखिएको थियो । उसको मृत्युपछि स्नेहा श्रेष्ठले लेखेकी छिन्– ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिंदा पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले बयान गर्न सक्ला !’
यो भैंसीको कथा वास्तवमै हृदयविदारक छ । केही वर्षअघि उनलाई मासुको लागि बधशालामा पुर्याइएको थियो । बधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले ऊ रन्थनिएर भाग्न थाल्यो । भाग्दै-भाग्दै एउटा विद्यालयभित्र पसेर लुक्यो।
