साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स, एकको अवस्था जटिल

 संवाददाता    २०८१, १६ पुष मंगलवार १०:४९     106 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो ।

उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् ।

छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए ।

उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।