उखु उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा खुदो मेला

 संवाददाता    २०८१, १५ पुष सोमबार १३:१७     94 जनाले पढ़िसके



Spread the love

गण्डकी। पुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेको थियो ।

यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

महानगरपालिकाले उखु पकेट क्षेत्रका रूपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘हामीले यस क्षेत्रमा उखु खेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरेका छौँ’, उनले भने, ‘पकेट क्षेत्रअन्तर्गत यस क्षेत्रमा कृषकलाई प्रतिरोपनी एक हजार पाँच सय दरले प्रोत्साहन रकम प्रदान गरिएको छ भने उखु पेल्ने मेसिन खरिदमा ५० प्रतिशत अनुुदान उपलब्ध गराइएको छ । यहाँको खुदोको पहिचानलाई हराउन नदिन प्याकेजिङ, ब्राण्डिङ, प्रयोगशाला परीक्षण आदिमा सहयोग गरिएको छ ।’

मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवद्र्धन केन्द्रले खुदो मेला आयोजना गरेका केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

मेलाका अवसरमा खुदो खाने प्रतियोगिता, सबैभन्दा राम्रो व्यापारिक कक्ष (स्टल) लाई पुरस्कार, उखु उत्पादक कृषकलाई सम्मानसँगै तातो खुदो खान पाउने व्यवस्था गरिएको थियो ।

मेलाका अवसरमा राम्रो व्यवस्थापनसहित धेरै क्षेत्रफलमा उखु उत्पादन गर्ने उत्कृष्ट कृषकहरू तुलसी तिमल्सिना, पूूर्णबहादुर धमला, रामचन्द ओझा र लोकनाथ अधिकारीलाई महानगरपालिकाका तर्फबाट पहिलो, दोस्रो, तेस्रो र चौथो पुरस्कार स्वरुप क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै खुदो खाने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने क्रमशः रञ्जन सुवेदी, गुरुदत्त पराजुली, बाबुराम पौडेल र शेखरनाथ लामिछानेलाई पुरस्कृत गरिएको थियो । उनीहरूलाई क्रमशः चार लिटर, तीन लिटर, दुई लिटर र एक लिटर खुदो प्रदान गरी पुरस्कृत गरिएको थियो ।

मेलाका अवसरमा सहभागीलाई तातो खुदोको स्वाद चखाइएको थियो भने विभिन्न व्यापारिक कक्षमार्फत खुदो किनेर लैजाने व्यवस्था गरिएको थियो । मेलामा उखु उत्पादक कृषक मीना धमलाले उखुबाटै बनाइएको बाला, मालाका साथै छड्के तिलहरी आदि गरगहना लगाएर आकर्षणको केन्द्र बनेका थिए । उखु खेतीबाटै आफू आत्मनिर्भर बनेको र यसैका माध्यमबाट गरगहना समेत किन्ने भएकोले प्रतिकात्मक रूपमा उखुबाट गरगहना बनाएर लगाएको उनले बताए।