राँको बालेर मनाइयो भुवा पर्व

 संवाददाता    २०८१, १५ पुष सोमबार १२:५९     85 जनाले पढ़िसके



Spread the love

कालिकोट — परम्परागत रूपमा मनाइँदै आएको भुवा औंसीका अवसरमा पलाँता र पचालझरनामा राँको बालेर मनाइएको छ । लोप हुन लागेको भुवा औंसी तथा भैलो खेलेर मनाइने चलनअनुसार परम्परागत संस्कृतिको संरक्षण गर्ने अवस्थामा पलाँतामा भने राँको बालेर मनाइएको हो ।पलाँता गाउँपालिकाको थिर्पू, धौलागोह, खीनको छलँहा, पचालझरनाका जारकोट, राम्नाकोट, खार्दुलगायतका ठाउँमा राँको बालेर पुस १५ को अघिल्लो दिन भुवा औंसी मनाउने चलन छ ।

पुस १५ मा तिहारको रुपमा मनाउने र अघिल्लो दिन रमाइलो गर्ने चलन चल्तीअनुसार राँको बालेर भुवा औंसी मनाइएको पलाँता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले बताए ।

माथिल्लो कर्णालीमा भुवा औंसीका रूपमा मनाइने चलनअनुसार भैली पनि खेल्ने चलन पछिल्लो समयमा हराउँदै गएको प्रति बुढापाका चिन्तित छन् । ‘परम्परा मासिँदै गएको छ,’ खार्दु गाउँका ७७ वर्षीय नरिमाने कठायतले भने, ‘संरक्षण गर्न युवा पुस्ता लाग्नु पर्छ ।’