पर्याप्त भित्रियो ‘लोकल’ गोलभेँडा

 संवाददाता    २०८१, १२ पुष शुक्रबार १२:०३     111 जनाले पढ़िसके



Spread the love

सर्लाहीका किसानले उत्पादन गरेको स्थानीय (लोकल) जातको गोलभेँडा प्रशस्त मात्रामा बजार भित्रिन थालेको छ ।

यो वर्ष गत असोजको भारी वर्षाले गोलभेँडाको बेर्ना सखाप पारेकाले पुनः बेर्ना तयार पारेर बोट सार्नुपर्दा ढिलो गरी उत्पादन भएको किसानले बताएका छन् । स्थानीय गोलभेँडा बजारमा पर्याप्त भित्रन थालेसँगै भारतीय गोलभेँडाको आयात घट्न थालेको छ ।

तुलनात्मक रुपमा स्वादिलो हुने स्थानीय जातको गोलभेँडाले केही दिनदेखि भारतीय गोलभेँडा तत्काललाई यहाँका बजारबाट विस्थापित नै गरेको छ । चारैतिर स्थानीय जातको गोलभेँडा तयार भएर बजारमा ठूलो परिमाणमा भित्रन थालेसँगै किसानले मूूल्य भने कम पाउन थालेका छन् ।

यो वर्ष किसानले २५ किलो अट्ने एकक्रेट गोलभेँडा तीन हजार रुपियाँसम्ममा बिक्री गरेका छन् । अहिले प्रशस्त फल्न थालेपछि क्रेटको एक हजार २०० रुपियाँदेखि एक हजार ५०० रुपियाँसम्ममा बिक्री हुन थालेको छ । मधेश प्रदेशको प्रमुख तरकारी बजारका रुपमा रहेको लालबन्दी थोक तरकारी बजारमा गोलभेँडा प्रतिक्रेजी ४५ देखि ५० रुपियाँसम्म बिक्री गर्न पाउँदा किसान खुसी देखिन्छन् ।

भण्डारण गरेर राख्ने चिस्यान केन्द्रको अभावमा गोलभेँडा खेती गर्ने किसानलाई गोलभेँडा पाक्नासाथ बजारमा जति नै मुुल्य भएपनि बेचिहाल्नुुपर्ने बाध्यता छ । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष गोलभेँडाले राम्रो मूूल्य पाइरहेको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान सुमनलाल घिसिङले बताए ।

बोट हुर्काउने बेला वर्षाले निराश पारेपनि अहिले राम्रो भाऊ पाउँदा खुसी लागेको घिसिङको भनाई छ । सर्लाहीमा उत्तरी भेगको लालबन्दी, हीरापुर, पत्थरकोट, जियाजोर, परवानिपुर, घारिबथान, रानिगन्ज, सासापुर, नवलपुर, डाबरी, घुर्कौलीलगायत भेगमा व्यवसायिक रुपमा गोलभेँडा खेती हुने गरेको छ ।

यस भेगका किसानले बजारमा प्रशस्त गोलभेँडा बिक्री गर्न ल्याउन थालेसँगै लालबन्दी थोक तरकारी बजारका व्यापारीले अन्यत्र शहरमा पठाउने गोलभेँडाको परिमाण बढाउन थालेका छन् । लालबन्दी थोक तरकारी बजारका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले यहाँबाट दैनिक ६० टन गोलभेँडा निकासी हुन थालेको जानकारी दिए ।

किसानले लालबन्दी बजारमा ल्याएर बेच्ने गोलभेँडा व्यापारीले मलङ्गवा, जनकपुर, वीरगन्ज, सिन्धुलीसहित सङ्घीय राजधानी काठमाडौंसम्म पुु¥याउने गरेका छन् ।

पछिल्लो समय गोलभेँडा फल्ने सिजनमा पूर्व पश्चिम राजमार्गस्थित हरिवनको तीनघरे लच्कामा अस्थायी बजार राखेर व्यापारीले त्यसभेगका किसानले फलाएको गोलभेँडा खरिद गर्ने गरेका छन् ।