राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा सुरु भएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसो सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए।
यो मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडि बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो।
बिहीबार नै अर्की प्रतिवादी लीला पछाईंको बयान सकिएपछि रविको बयान सुरु भएको हो। लीलाअघि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो।
अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरूको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ।