सर्लाही सदरमुकाम मलंगवाको मुख्य बजार क्षेत्रमै लामो समयदेखि हुलाकी सडकको निर्माण कार्य अलपत्र परेपछि स्थानीय वासिन्दा पुनः आन्दोलित बनेका छन् ।
उनीहरुले आज सडकमा टायर बालेर प्रदर्शन गर्दै तत्काल अधुरो काम पूरा गर्न माग गरेका हुन् । मलंगवामा हुलाकी सडक लामो समयदेखि कालोपत्रे नगरी अलपत्र छाडिँदा स्थानीय धुलोको सास्ती खेप्न बाध्य छन् ।
सडकको धुलोले बिरामी पर्न थालेपछि बाध्य भएर अघिल्ला वर्षहरुमा झैँ आन्दोलन सुरु गरिएको मलंगवा नगरपालिका–२, का युवा सोहन झाले जानकारी दिए । पटक–पटक समय तोकेर ठेकेदारले कालोपत्रेको काम पूरा नगरेको झाले गुुनासो गरे ।
मलंगवामा हुुलाकी सडकको पूर्वतर्फ टावर चोकदेखि पश्चिम शिक्षा विकास तथा समन्वय इकाइ सम्मको सडक कालोपत्रे हुन बाँकी छ । मुख्य बजारको केही ठाउँमा जग्गाको विवादका कारण काम गर्न नसकेको गुनासो ठेकेदारको रहेको छ ।
ठेकेदारका प्रतिनिधीका रुपमा रहेका इन्जिनियर अजय यादवले विवाद नभएको ठाउँमा भोलीबाटै कालोपत्रे तथा कल्भर्ड निर्माणको काम सुरु हुने दावी गरेका छन् । केही ठाउँमा निर्माण भइसकेको नालामा ढकन नहाल्दा बालबालिका, वृद्धवृद्धा र अन्य बटुवा तथा पशुु चौपाय नालामा परेर घाइते भइरहेका स्थानीयको भनाई छ ।
मलंगवा नगरपालिका–२, का वडाध्यक्ष धीरेन्द्र साहले ठेकेदारलाई बारम्बार ताकेता गर्दा अटेरी गरेर बसेको बताउनुुभयो । हुलाकी सडक आयोजनाले सडक तथा नाला निर्माणको जिम्मेवारी पाएकाले वडा तथा नगरबाट बजेट खर्च गर्न मिल्ने अवस्था नरहेको वडाध्यक्ष साहको भनाई छ ।