१२० वर्ष पुरानो अदालत भवन पुरानै शैलीमा पुनर्निर्माण थालनी

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १२:०३     98 जनाले पढ़िसके



Spread the love

ललितपुरको पाटन मंगलबजार क्षेत्रमा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको ऐतिहासिक अदालत भवन पुरानै स्वरूपमा बन्ने भएको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा एक महिनाअघि उक्त अदालत भवन पुनर्निर्माण गर्न थालिएको हो ।

भारतीय सहयोगमा भवन पुनर्निर्माण भइरहे पनि पुरानो भवनमा प्रयोग भएका सबै सामान ऐतिहासिक भएकाले पुरातत्व विभागको प्रत्यक्ष संरक्षणमा रहेको छ । यो भवन एक सय वर्षभन्दा पुरानो हो । भवन पुनर्निर्माणका सबै डिजाइन तथा प्राविधिक पक्ष प्रत्यक्ष रूपमा विभागले नै हेरिरहेको विभागका महानिर्देशक सौभाग्य प्रधानांगले जानकारी दिइन् । ‘यो ऐतिहासिक भवन हो यसकारण पुनर्निर्माणमा मौलिकता कायम हुन्छ,’ उनले भनिन् । १८ करोड लागतमा पचली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा निर्माण सक्ने गरी काम थालेको छ ।

पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले लामो समयको प्रतीक्षापछि अदालत भवन पुनर्निर्माण हुन लागेको बताए । उनले समयमै निर्माण सकिने अपेक्षा पनि गरे । ‘योबाहेक पाटन दरबार क्षेत्रमा जीर्ण अवस्थामा रहेका सबैजसो ऐतिहासिक मठमन्दिर र भवन पुनर्निर्माण भइसकेका छन् । यो भवन बनेपछि पुनर्निर्माणको कम सकिनेछ,’ उनले भने, ‘यो राणाकालीन ऐतिहासिक भवन हो ।’

यो भवन मंगलबजारस्थित तत्कालीन जिल्ला अदालतको भवन हो । यद्यपि, करिब ३३ (०४८) वर्षअघि नै यहाँबाट जिल्ला अदालत लगनखेलमा सरिसकेको छ । यस भवनबाट अदालत सरेपछि केही समय बेवारिसेजस्तै बनेको थियो । पछि ०५५ सालतिर जिल्ला हुलाक कार्यालय यहाँ सरेको थियो । भवनको एकापट्टि दफा कक्ष (भजन कक्ष) समेत बनाइएको थियो । ०५५ देखि ०७२ सम्म यही भवनबाट हुलाकसँग सम्बन्धित सबै काम हुन्थे ।

हुलाकको व्यापक चलनचल्ती रहेको वेला यस भवनमा बिहानैदेखि चहलपहल हुन्थ्यो । तर, ०७२ सालको भूकम्पले भवनलाई चिराचिरा पारेपछि हुलाक कार्यालय पनि यहाँबाट पाटनढोका सर्यो । भूकम्पले भवन ढल्न मात्रै सकेन । तर, भित्र पस्न सक्ने अवस्थाको पनि छैन । हुलाक पाटनढोका सरेपछि भवनका सबै कागजात सारिएको थियो ।

लामो समयको प्रतीक्षा र पहलपछि ऐतिहासिक भवनको पुनर्निर्माण सुरु भएको हो । लाखेका अनुसार यो भवन १९६० सालतिर निर्माण भएको विभिन्न दस्तावेजमा उल्लेख छ । ‘राणाकालीन यस भवनलाई ऐतिहासिक रूपमै निर्माण गरिँदै छ, पहिले जस्तो थियो त्यही शैलीमा निर्माण हुन्छ,’ उनले भने, ‘पुनर्निर्माणपछि भवन आकर्षक बन्छ ।’

प्राचीन स्मारक संरक्षण ऐनअनुसार पुनर्निर्माण
पुरातत्व विभागले भवन ऐतिहासिक भएकाले प्राचीन स्मारक संरक्षण ऐन, ०१३ (१९५६) अनुसार निर्माण हुनुपर्ने बताउँदै आएको थियो । सोहीअनुसार ठेक्का दिएको विभागले जनाएको छ । यसअघि दुई तला मात्रै रहेको अब तीन तलाको बनाइँदै छ । पुरातत्व विभागका अनुसार भवन ०९० सालको भूकम्पमा समेत भत्किएर पुनर्निर्माण भएको थियो । पछिल्लो समय ०७२ को भूकम्पले पनि भवनलाई चिराचिरा पारेको थियो ।