रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज फूलबारी लीला

 संवाददाता    २०८१, १७ मंसिर सोमबार ११:०४     32 जनाले पढ़िसके



Spread the love

जनकपुर । सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत दोस्रो दिन आज फूलबारी लीला कार्यक्रम गरिँदैछ । जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा लीला कार्यक्रम गरिने छ । राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ । त्रेतायुगमा फूल टिप्न गएकी सीता र रामबीच भेट भएको प्रसंगलाई फूलबारी लीलाको रूपमा मनाइन्छ । राम र सीताबीच पहिलो पटक बगैँचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलबारी लीला कार्यक्रम गर्ने गरिन्छ । विवाह पञ्चमी महोत्सव अन्तर्गत हिजो पहिलो दिन नगर दर्शन कार्यक्रम भएको थियो । महोत्सवको तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम मनाउने कार्यक्रम छ । छैटौँ दिन गते सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गर्दछ । भारत आयोध्याका राजा दशरथका छोरा भगवान श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ ।त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयंम्बरका लागि राखेका शिवधनुषलाई राजा दशरथका छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताबीच विवाह भएको थियो ।