मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने- लक्ष्यअनुसार काम नगर्नेले ठाउँ ओगट्न हुँदैन

 संवाददाता    २०८१, १३ मंसिर बिहीबार १३:००     106 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्।

घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार काम नगर्ने मन्त्रीले ठाउँ ओगटेर बसिराख्न नहुने पनि बताएका हुन्।

कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आग्रह गरेको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

निर्धारण गरिएका लक्ष्य प्राप्त हुने गरी कामको गतिलाई अझै तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रीहरूलाई सचेत पनि गराएका छन्।

‘केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो। गत वर्षको भन्दा पूँजीगत खर्चको गति हेर्दा सकारात्मक देखिएको छ,’ मन्त्री पाण्डेले भने, ‘प्रधानमन्त्रीले भन्नु पनि भयो, लक्ष्यअनुसार काम गर्न हामी सबै तयार हुनुपर्छ। जो जुन ठाउँमा छ त्यसले सोअनुसार काम, कर्तव्य निर्वाह गर्न सकेन भने त कसैले पनि कुनै पनि ठाउँ ओगटी रहनु हुँदैन।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयहरूले एकीकृत प्रस्तुती दिएका थिए। मन्त्रीहरू र सचिवहरूले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रगति तथा समस्या पनि सुनाएका थिए।

मन्त्रीहरूले अन्तर मन्त्रालयबीच समन्वयमा समस्या देखिँदा पनि लक्ष्यअनुसार काम गर्न समस्या भइरहेको बताएका थिए।