त्रिभुवन विमानस्थलमा अवतरण विमानमा बमको हल्ला

 #अपराध     २०८१, ६ कार्तिक मंगलवार १८:३२     151 जनाले पढ़िसके



Spread the love

काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन थालेको छ ।

सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ । बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन् ।

‘अहिले डग स्निफिङ, ब्यागेज जाँच लगायतका काम गरेर सबै यात्रुलाई एकएक गरेर निकाल्ने तयारी गरिरहेका छौं’, उनले भनिन्, ‘त्यस्तो सूचना आएपछि सावधानी अपनाउँदै गर्नुपर्ने कामहरु गरिरहेका छौं ।’

सेनाको बम डिस्पोजल र तालिम प्राप्त कुकुरसहितको टोली विमानस्थलमै तैनाथ रहन्छन् । प्रहरीको पनि तालिम प्राप्त कुकुर विमानस्थलमा नियमित खटिन्छन् ।

यूके १५५ कलसाइनको जहाजमा १५७ जना यात्रु सवार छन् । यो विमान मंगलबार अपराह्न ४ः११ बजे अवतरण गरेको थियो । सूचना प्राप्त भएलगत्तै सावधानी बनाएर जाँच भइरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनले भने, ‘अहिलेसम्म त्यस्तो शंकास्पद वस्तु भेटिएको छैन ।’

यो सूचनापछि अहिले विमानस्थलमा उडान–अवतरण रोकिएको छ । भारतमा पछिल्लो एक सातामा कम्तीमा १०० विमानमा बम रहेको भन्दै गलत सूचना प्रवाह भएको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गएको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए । आइतबार कम्तिमा २० वटा विमानमा बमको थ्रेट दिइएको थियो ।