पुल प्रयोग गरेबापत पालिकाले उठाउँछ २० रुपैयाँ शुल्क

 संवाददाता    २०८१, ८ आश्विन मंगलवार ११:३८     122 जनाले पढ़िसके



Spread the love

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमामा पर्ने साँगास्थित झोलुंगे पुल वारपार गरेबापत सूर्यविनायक नगरपालिकाले पैसा असुल्ने गरेको छ । ठेक्का नै लगाएर नगरपालिकाले पुल प्रयोग गर्ने हरेक व्यक्तिसँग २० रुपैयाँका दरले पैसा असुल्ने गर्दै आएको छ । यो पुल पाँच वर्षअघि सूर्यविनायक नगरपालिकाले करिब ५५ लाखका निर्माण गरेको हो ।

नगरपालिकाले पुल निर्माण गरेको खर्च उठाउन शुल्क लिएको जनाएको छ । तर, पुल प्रयोग गर्दा शुल्क उठाएपछि सामाजिक सञ्जालमा नगरपालिकाको कार्यको आलोचना भइरहेको छ । सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा यो पुल पर्यटन प्रवद्र्धन तथा पर्यटकीय विकासका हिसाबले बनाएका कारण शुल्क उठाउनुलाई जायज दाबी गर्छन् ।

‘यो पुल स्थानीयवासीलाई दैनिक आवतजावतका लागि बनाइएको होइन । पर्यटकीय उद्देश्यले निर्माण गरिएको हो,’ उनले भने, ‘भ्रमण र रमाइलो गर्न आउनेले पुल प्रयोग गर्दा २० रुपैयाँ तिर्नैपर्छ, यो हाम्रो आम्दानीको स्रोत पनि हो ।’ उनका अनुसार पुल प्रयोग गरेबापत रकम उठाउने गरी नगरपालिकाले दुई वर्षअघि ४१ लाख रुपैयाँमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता गरेलगत्तै ठेकेदार कम्पनीले शुल्क उठाउँदै आएको छ । यस्तै पुल प्रयोग गरी भिडियो सुटिङ गरे थप शुल्कसमेत लिँदै आइरहेको छ । शुल्क उठाउन ठकेदार कम्पनीले तीनजना कर्मचारीसमेत राखेको छ ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा भन्छन्–
यो पुल स्थानीयवासीलाई दैनिक आवतजावतका लागि बनाइएको होइन । पर्यटकीय उद्देश्यले निर्माण गरिएको हो । भ्रमण र रमाइलो गर्न आउनेले पुल प्रयोग गर्दा २० रुपैयाँ तिर्नैपर्छ, यो हाम्रो आम्दानीको स्रोत पनि हो ।