परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमणमा आइतबार दिल्ली जाने भएकी छिन् । दिल्लीमा उनले समकक्षी डा. एस जयशंकरसँग औपचारिक वार्ता र भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई ‘राखी’ बाँध्नेदेखि नियमित स्वास्थ्योपचार गर्नेसम्मको कार्यक्रम तय भएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेअनुसार परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना दिल्ली जानेछन् । भ्रमण दलमा दिल्लीस्थित कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र राजनीतिक काउन्सिलर दुरपदा सापकोटा सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हुन लागेको हो । भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार विदेशमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र स्रोतका अनुसार उनले समकक्षी जयशंकरसँग सोमबार साउथ ब्लकमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मूका लागि नेपाल भ्रमणको निमन्त्रणापत्र लिएर जानेछिन् ।
‘भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका लागि आग्रह गरिएको छ । उताबाट समय आइसकेको छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘परराष्ट्रमन्त्रीको भ्रमणका वेलामा भारतमा दुई देशको उच्चस्तरीय प्रतिनिधिमण्डल आउने भएकाले भेटवार्ता हुने पक्का छैन ।’ भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेरै निमन्त्रणा हस्तान्तरण गर्ने परराष्ट्रमन्त्रीको इच्छालाई भारतीय विदेश मन्त्रालयले सकारात्मक जवाफ दिएको उनी निकटस्थहरूले बताए ।
तीन वर्षपछि ‘राखी’ संयोग
परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले तीन वर्षपछि भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई राखी बाँधिदिने कार्यक्रम छ । नयाँदिल्लीमा उनले सोमबार (३ भदौमा ) चौथाइवालेलाई राखी बाँध्ने कार्यक्रम छ । ‘नेपाली कांग्रेस र भाजपाको सम्बन्धबारे उहाँहरूबीच छलफल हुने कार्यक्रमसँगै यसपालि परराष्ट्रमन्त्रीले चौथाइवालेलाई राखी बाँदिदिनुहुनेछ,’ परराष्ट्रमन्त्रीनिकट स्रोतले भन्यो ।
तीन वर्षअघि जनैपूर्णिका दिन ६ भदौ ०७८ मा चौथाइवालेलाई राणाले पहिलोपटक राखी बाँधेकी थिइन् । त्यसवेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । चौथाइवालेले बालुवाटारमा राखी बाँधेका थिए । यसपटक दिल्लीमा संयोग जुरेको छ । उनले मंगलबार स्वास्थ्य जाँच गर्ने र बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।