भक्तपुर । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परि मृत्यु भएको भनिएकी सुष्मा नेपाली जिवितै रहेको खुलासा भएको छ ।
मेलुङ गाउँपालिका–४ भेडपु घर भएकी सुस्मा प्रहरीकोमा आफै पुगेकी हुन् । दुर्घटना लगत्तै उनका दाजु राजु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीबाटै गलत सूचना प्रवाह भएको थियो । भक्तपुरको प्रहरी र प्रशासनले दुर्घटनामा सुस्माको मृत्यु भएको जानकारी दिएपछि देशभरका मिडियाले उनको मृत्यु सम्बन्धी समाचार प्रकाशन गरेका थिए । प्रहरीकै जानकारीका आधारमा महेन्द्रमाला खबरले पनि समाचार प्रकाशन गरेको थियो । तर सो विवरण गलत रहेको जानकारी प्राप्त भएको छ।
गठ्ठाघरमा आज दिउँसो भएको दुर्घटनामा स्कुटर चालक एक महिलाको मृत्यु भएपछि उक्त शव आफ्नो बहिनीको भएको भन्दै उनका दाजु घटनास्थल पुगेका थिए । उनले रुँदै मृतक आफ्नो बहिनी सुष्मा भएको बताएपछि सोही आधारमा प्रहरीले सूचना प्रवाह गरेको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले दुर्घटनामा परि मृत्यु भएकी महिलाको अझै पहिचान खुल्न नसकेको जानकारी दिईन । दुर्घटनामा शवको पहिचान गर्न नसक्नेगरी क्षतविक्षत भएका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । आज दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेको स्कुटीमा फेला परेको ब्लुबुकमा सवारी धनीको नाम ओखलढुंगाका उत्तम कोइराला भएको उल्लेख छ । तर, उनको माबाईलमा सम्पर्क हुन नसकेका कारण शवको पहिचान र अनुसन्धानमा समस्या भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीलाई गलत सूचना दिने दोलखा भेड्पुका राजु नेपालीलाई प्रहरीले हिरासतमा राखेको छ ।