प्रधानमन्त्री ओलीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव

 संवाददाता    २०८१, २८ श्रावण सोमबार ११:२१     60 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

डा. ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका हुन्।

उनले गत जेठ ६देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए। त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाएर मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो।

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।

आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छ्न।

डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

त्यस्तै जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन्।

थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिएका छन्।