दैनिक कारोबार रकममा थप नयाँ कीर्तिमान बनेको दिन सेयर बजारले २८ सय अंकको मनोवैज्ञानिक विन्दु पार गरेको छ।
गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध झेलिरहेको थियो। तर, साताको पहिलो दिन ९४.५३ अंकको वृद्धि हासिल गरी नेप्से इन्डेक्स २८६०.९१ मा पुगेको छ। यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँबराबरको कीर्तिमानी कारोबार भएको हो।
यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार हुँदा कारोबार रकममा नयाँ रेकर्ड बनेको थियो। सेयर बजार परिसूचक पनि ३० महिनायताकै उच्च विन्दुमा आइपुगेको छ।
यस दिन दुई सय २५ कम्पनीले कारोबार रकम वृद्धि गर्दा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने दुई कम्पनीको मूल्य यथावत् रहेको छ। आइतबार तीन सय ३० वटा धितोपत्रको ६ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ।