काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दैछन् । उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् ।
शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।
उपचारको सिलसिलामा फ्रान्सको राजधानी पेरिसबाट दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् ।
उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्दछ ।’
८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।