संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुट्नु नयाँ सरकार गठनपछिको राम्रो काम: प्रचण्ड

 संवाददाता    २०८१, २३ श्रावण बुधबार १५:१२     97 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गरेका छन्।

सिंहदरबारमा बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताए।

यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमासमेत उनले बताएका छन।

लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन गाह्रो भएको विषय अहिले टुंगिनु खुशीको कुरा भएको उनले बताए।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अहिले कार्यदलले एउटा समझदारीका साथ प्रतिवेदन बुझाएको छ।

म कार्यदललाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निस्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनत र स्पिरिटका साथ कार्यदलले गृहमन्त्री रमेश लेखकले भनेको जस्तो अरुको पनि सहयोग लिएर धेरै छलफल गरेर पीडितमैत्री बनाउँदै निस्कर्षमा पुर्‍याइएको छ। यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुशीको कुरा हो। नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’ फोटो : फाईल