नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री ओली

 संवाददाता    २०८१, २१ श्रावण सोमबार १८:२४     149 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढंगले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताएका छन्।

राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)स्थित घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले भने, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो भएन। अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ।’ द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा व्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको दाबी गरे। सांस्कृतिक अन्तरघुलन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योग प्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तका रूपमा द्रुतमार्ग भएको बताउँदै उनले देशमा पूर्ण शान्ति र भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको धारणा राखे।