काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।
पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको बताउँदै ओलीले कुनै पनि प्रकारको गुटबन्दी गरेमा कारबाही गरिने चेतावनी दिए ।
नव मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै ओलीले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
’डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो’ प्रधानमन्त्री ओलीले भने,’हाम्रो पार्टीमा पनि लामो समय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।’
उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए ।
आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने उनको भनाइ थियो ।
उनले पार्टीमा अस्वस्थ्य तरिका नअपनाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न गरेका छन् ।
उनले विनम्रता, शालीनता र कम्युनिस्ट आचार भित्र बस्न पनि केन्द्रीय सदस्यहरूलाई सचेत गराए ।