विद्युत् अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ। बुधबार दिउँसो साढे १ बजे विद्युत् अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो।
प्राविधिक समस्याका कारण आठवटा डिब्बामा सवार करिब ५० यात्रुहरू अड्किएका थिए। सशस्त्र प्रहरी बलका डिआइजी कुमार न्यौपानेका अनुसार उद्धार सुरु गरेलगत्तै प्राविधिक समस्या समाधान भएर केबलकार सुचारु भएको हो। यात्रुहरूको उद्धार कार्यका लागि २६ सशस्त्र प्रहरीको टोली खटाइएको थियो।
हाल सबै यात्रुहरूलाई सकुशल निकालिएको चन्द्रागिरि केबलकारका कर्मचारीले बताए।
‘केबलकारमा केही प्राविधिक समस्या आएको थियो, अहिले मर्मत पछि सञ्चालनमा आइसकेको छ। प्रहरीको टोली पनि उद्धारका लागि आउनुभएको थियो। उद्धार गर्दा गर्दै चल्यो। २/३ वटा डब्बाबाट केही यात्रुहरूलाई उहाँहरुले निकाल्नु भयो। बाँकी सबै केबलकारबाटै झर्नुभयो।’ कर्मचारीले भने।