सङ्खुवासभाको सिलिचोङमा पहिरोमा परेर दुईको मृत्यु , एक गम्भीर घाइते

 बाढी पहिरो     २०८१, १ श्रावण मंगलवार १७:३९     70 जनाले पढ़िसके



Spread the love

मङ्गलबार बिहान करिब ६ बजे सिलिचोङ–१ सिसुवाखोलामा माथिबाट पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर ५५ वर्षीया मोतीमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका –१ का वडाध्यक्ष अनिष कुलुङ राईले जानकारी दिए। पहिरोसँगै खसेको ढुङ्गाले किचेर ५५ वर्षीया मोतीमाया र उनकी बुहारी समीक्षाको घटनास्थल मै मृत्यु भएको वडाध्यक्ष राईले बताए।

लगातारको वर्षासँगै माथिबाट पहिरोसँगै आएको ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन्। गम्भीर घाइते रविनाको देब्रे खुट्टा छुटिएको छ। उनको शरीरका विभिन्न भागमा समेत चोट लागेको छ। घरमा रहेका ६ मध्ये तीन जना सकुशल छन्। उनीहरू साउने सङ्क्रान्ति मनाउन गोठमा भेला भएका थिए।

गम्भीर घाइते रविनाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भइरहेको सङ्खुवासभा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। घटना स्थल सदरमुकाम खाँदबारी देखि दुई दिनको पैदल दूरीमा पर्दछ। घटनाको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।