नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
‘एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ,’ प्रवक्ता महतले भने। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेस विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ। कार्यसम्पादनको निर्णय लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने विधानको व्यवस्था छ।
गएको मध्यरातमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको थियो। उक्त सहमतिबारे सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा जानकारी गराएका छन्।