कांग्रेस एमाले सहमती,पालै पालो प्रधानमन्त्री,पहिला ओली प्रधानमन्त्री

 संवाददाता    २०८१, १९ असार मंगलवार ०६:४६     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ ।

राति कुरा गर्दै ती नेताले भने, “हामीबीच सहमति भएको छ । पहिला सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।”

उनका अनुसार मंगलबार बिहान नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिनेछन् ।

त्यसपछि कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भने के हुन्छ ? हाम्रो प्रश्नमा ती नेताले भने, “संसद्का दुई ठूला राजनीतिक दलबीच सहमति भइसकेपछि प्रधानमन्त्रीले मैले संसद्मा विश्वासको मत पाउँछु भनेर आंट गरेर बस्नुहुन्छ भन्ने हामीले कल्पना गरेका गरेका छैनौं”

उनले प्रधानमन्त्रीले करिब दुई तिहाइ देखदेख्दै विश्वासको मत लिन्छु भन्नु मुर्खताबाहेक केही नहुने बताए ।

सहमतिअनुसार दुई दलले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।

“हामीबीच अहिले राति नै सहमति भएको छ,” उनले बताए, “सहमतिका कुनै पनि बुँदा हामीले अहिले सार्वजनिक गर्ने छैनौं ।”

यदि प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्ने अडान राखेमा भर्खरै कोसी प्रदेशमा भएको नजिरले पनि काम गर्ने उनले बताए ।

“भर्खरै कोसीमा बहुमत सदस्यहरुले बुझाएको हस्ताक्षरलाई सर्वोच्चले मान्यता दिएको छ,” उनले भने, “त्यही अवस्था पनि हुन सक्छ ।”

उनीहरुबीच संविधान संशोधन गर्ने विषयमा पनि सहमति जुटेको छ। जसमा आयोग बनाएर मस्यौदा तयार गर्ने बताइएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार समानुपातिक प्रदेशमा हटाउने, संघमा समानुपातिक संसदलाई राष्ट्रियसभा सदस्य बनाउने, स्थानीय तह घटाएर वडाको संख्या बढाउने, उपराष्ट्रपतिले नै राष्ट्रियसभाको अध्यक्षता गर्ने, निर्वाचन क्षेत्र बढाउने, संवैधानिक निकाय घटाउने र परराष्ट्र नीति बलियो बनाउने विषयमा छलफल र सहमति भएको छ ।