काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

 बजेट     ११ असार २०८१, सोमबार २२:०१     20 जनाले पढ़िसके



Spread the love

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ।

सोमबार राष्ट्रिय सभा गृहमा उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

आगामी आर्थिक वर्षको लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट ल्याएको उनले बताइन्।

चालु आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो।

उपमेयर डंगोलका अनुसार त्‍यसमध्ये असार ९ गतेसम्म ९ अर्ब ३३ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ३९ प्रतिशत हो।

त्यस्तै २५ अर्ब १० करोड १० लाख ५२ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ बजेट विनियोजन भएकोमा जम्मा चार अर्ब ५२ करोड ७ लाख ६५ हजार रुपैयाँ भएको छ।

चालु खर्चतर्फ ८ अर्ब ९३ करोड ४६ लाख ६९ हजार बजेट रकम विनियोजन भएकोमा चार अर्ब ७६ करोड ८१ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ।

स्थानीय संचित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गत कार्यक्रमका लागि १९ करोड ९ लाख विनियोजन गरिएको उपमेयर डंगोलले बताइन्।

कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ३९ करोड ४५ लाख २९ हजार विनियोजन भएको छ।

पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन गरिएको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि संचित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार आम्दानी हुने अनुमान गरेको छ।

आन्तरिकबाट १९ अर्ब १५ करोड ६६ लाख स्रोत व्यवस्थापन हुने अनुमान छ। नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ एक अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाखको स्रोत अनुमान गरिएको छ।

संघीय राजश्व बाडफाँटबाट एक अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेशबाट ५५ करोड, स्थानीयबाट १० करोड ५० लाख, नेपाल सरकार समानीकरण अनुदानबाट ८० करोड, प्रदेश समानीकरण अनुदानबाट १० करोड, आन्तरिक जनसहभागीताबाट ८० लाख प्राप्‍त हुने अनुमान छ।