गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ?

 काँग्रेस     ५ असार २०८१, मंगलवार १७:३४     18 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको अनुसन्धान गर्न सक्नुहुन्छ भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थानीले भने, “गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ त्यसमा तपाईंले ? क्यान्टोनमेन्टको घोटालाको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ? ओम्नी र यतीको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ?”

उनले अगाडि भने, ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु ।’ त्यस्तै उनले फाइल खोल्न किन ढिलो गरेको भन्दै अर्को प्रश्न गरेका छन् । “किन ढिलो गर्नुभएको छ फाइल खोल्न, अरुलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईं सिंहको मुटु भएको मान्छे के कारणले सुतिरहनुभएको छ अहिले ?”, उनले भने ।

गृहमन्त्रीले कांग्रेसलाई धम्क्याउन खोजेको आशंका गर्दै उनले धम्क्याउन छाडेर भ्रष्टाचार र अनियमितताका फाइलहरु खोल्न आग्रह गरे । गृहमन्त्री लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको समेत टिप्पणी गरेका छन् ।

सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाए ।

‘आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले भने, ‘२०८० चैत १० गते गृहमन्त्रीले जिबी राई आकाश हो कि पाताल जहाँ भएपनि हो समातोर ल्याउँछु भन्नुभएको थियो । त्यो याद छ कि छैन ?’ फोटो : फाइल